Monday, August 20, 2012

TEEJ SONG (तीज गीत)

मैले चाहीँ बाईकमा
घुमाउने मन पराउने ।
बाबाले रोज्नु भो भैंसी चराउने ।।

मलाई मन पर्ने
पल्टनको लाहुरे ।
बाबाले रोज्नु भो तोरिलाउरे ।।

मलाई मन पर्ने
फिलिममा रमाउने ।
बाबाले रोज्नु भो हलो समाउने ।।
.....................बरिलै  हलो समाउने ।।
यी तीज गीतका पंक्तिहरु हुन........
भाद्र शुक्ल तृतियाका दिनलाई तीज पर्वका रुपमा मनाउने परम्परा नेपालीहरुमा कायम रहेको छ । यो पर्व महिला चेलिबेटीहरुको विषेश पर्वका रुपमा मनाईँदै आएको पर्व हो । यस पर्वमा महिलाहरुले भाद्र शुल्क द्धितीयाका आधारातमा भोजन सेवन गरि तृतियाका दिनमा दिन भर उपवास (व्रत) बस्ने गर्दछन । द्धितीया तीथिको राती सेवन गरिने उक्त भोजनलाई “दर” भनिन्छ । यसरी खाने खानाका परिकारहरुमा दुध, ध्यू, दही को बढि प्रयोग गर्ने प्रचलन छ । यसै प्रचलनलाई “तीजको दर खाने” भनेर भनिन्छ । यो पर्वमा विशेष गरि विवाहित महिलाहरु माईतिघर जाने र अविवाहितहरु आमा संग मामा घरमा जाने परम्परा र प्रचलन छ । माईति र मावलीले पनि सोहि अनुसार चेलिवेटीहरुलाई प्रेम पुर्वक निम्ता पठाउने वा लिन जाने चलन छ । यस प्रकार माईतीघर जानेहरु खुशीले नाच गान गर्ने र विभिन्न कारणले माईतीघर जान नपाउने अथवा माईतीघर नहुने हरुले मनको बिलौनाहरु प्रस्तुत गर्ने एक प्रकारको गीत संगीत नेपाली समुदायमा लोकप्रिय र प्रचलित छ त्यसैलाई नै तिज गीत भनिन्छ ।

तीजको बेलामा सबै जान्छन माईत ।
आफ्नो माईती मुग्लान पारि छैन साईत ।।
यो तीज गीतको अर्को एउटा अंश अर्थात टुक्का हो । यसमा माईती घरका मुख्य व्यक्ती विदेश भएकाले आफुले माईत जान नपाएको विलौना गरिएको छ । यसैगरि घर परिवारमा भएका बेमेलहरु, हेला होँचो गरिएका कथाहरु, सासु, ससु्रा, श्रीमान, अमाजू, नन्द आदीका व्यवहारहरु उब्जीएका पीडाहरु गीतका विषय वस्तुका रुपमा समावेश गरिएको पाईन्छ । यसका अतिरिक्त कतिपय गितहरुमा विभिन्न रमाईला विषयहरु, समुदायका विभिन्न पक्षहरुलाइ व्यङ्गयका रुपमा समावेश गरिएका हुन्छन ।  जसको उदाहरणको रुपमा हामीले यस पेष्टको सुरुका पंक्तिहरुलाई लिन सक्दछौं । 

यस प्रकार विभिन्न  शैलीका गीत संगीतहरु आज भोलि प्रचलित छन । त्यसै गरि पुरुषहरुले मसेत आज भोलि विभिन्न तीज गितहरुमा स्वर प्रदान गरेको पाईन्छ । समयको परिवर्तन संगै महिला र पुरुष विचका यूगल, दोहोरी शैलिका तीज गीतहरु पनि अहिलेको जनमानसमा लोक प्रिय बन्दै गएको छ ।

ASARE SONG (असारे गीत)

असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो
मायालु ज्यानलाई फरिया किन्दा छ बिस रिन लाग्यो 
Rice Planting
नेपाली जन मानसमा असारे गीतको यो पंक्ती अत्यन्त  लोक प्रिय छ. / नेपाल को खेति प्रणाली अनुसार  बिशेस गरि बर्षा याममा खेतमा धान रोप्ने गरिन्छ / बर्षा याममा बर्षा हुने हुनाले बर्षा को पानी अनि बर्षाका कारण उब्जिएका पानीका अस्थाई मुहानहरु बाट आउने पानीलाई प्रयोग गरि खेत सिंचित गरी धान बाली लगाउने गरिन्छ  / यसप्रकार धान बाली लगाउने समय असार र श्रावन लाई  सबै भन्दा उत्तम रुपमा लिने गरिएको छ /  यसरी खेत मा धान बालि लगाउने समयमा गाइने गीत असारे गीत को रुपमा नेपलीहरु माझ प्रचलित र लोकप्रिय रहेको छ / खेत रोप्ने समयमा खेतमा उपस्थित रहने सबै जनाले मनोरंजन लिंदै यो गीत गाउने अनि नाचिने समेत गरिन्छ / रोपरे, बाउसे, हली तथा खेतका धनि वा मालिक समेत ले एक आपसमा हिलो छेपा छेप गर्दै यो समय मा मनोरंजन लिने  गर्दछन / नेपालमा  असार १५ लाई बिसेष पर्वका रुपमा लिने गरिन्छ / उक्त दिन दहि र चिउरा खाने परम्परा पनी छ / यसका साथै नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेर विभिन्न कार्यक्रम हरु पनी आयोजना गर्ने गरेको छ /
Preparing field to rice plantation




नोट : (खेतमा धान रोप्ने लाई रोपरे, अनि धान रोप्नका लागि खेत लाई छेउ कुनाका विभिन्न नमिलेका भागहरुलाई समथर पार्दै र खेत बाट पानी बाहिर जान नदिन खेतको आली (डिल) हरु मिलाउने काम गर्ने लाई बाउसे र खेतमा हलो जोतेर अनि साउने लगाएर धान रोप्न योग्य  बनाउने व्यक्ति लाई  हली भनिन्छ / )


RATYAULEE SONG (रत्यौली)


विवाहका अबसरमा बेहुली लिनका लागि केटा(बेहुला) जन्त सहित बेहुलीको घर तर्फ प्रस्थान गरिसके पछी बेहुलाको घरमा टोल छिमेकका महिलाहरु मात्र जम्मा भइ रमाइलो गर्दै केहि अस्लील शब्दहरु समेत समाबेश गरी गीत गाउँदै र नाच्दै रमाइलो गर्ने परम्परा नेपालीहरुमा रहेको छ . सोहि समयमा गाइने गीतलाई रत्यौली गीत र सोहि समयमानै प्रदर्शित नृत्य लाई रत्यौली नाच भन्ने गरिन्छ . सो समयमा नृत्य भइ राखेको स्थानमा पुरुषहरुको उपस्थिति र सहभागिता भने मनाही रहेको हुन्छ . यस किसिमको गीत गाउने अनि नाच्ने कार्यक्रमलाई बेहुली लिएर बेहुला र जन्तीहरु नफर्कंदै सकाई सक्नु पर्ने हुन्छ .

BHAILEE SONG (भैलिनी गीत)

Performing Dance in BHAILEE SONG
भैली गीतलाई भैलीनी गीत पनि भन्ने चलन छ / यो गीत हिन्दुहरुको दशैं पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको तिहार पर्वका बेला लक्ष्मी पुजाका दिन गाउने अनि नाच्ने गरिन्छ / उक्त दिन महिलाहरु आ-आफ्ना घरमा लक्ष्मी पुजा गरिसके पछी भैलिनिका रुपमा टोल छिमेकमा दान दक्षिना संकलन गर्दै समुहमा हिड्ने गर्दछन / बिशेसगरि गीतमा दान दक्षिना माग गरिएका, विभिन्न समसामयिक बिषयहरु र दान दक्षिना प्राप्त गरिसके पछि घर पट्टिकालाई आशिस दिइएका शब्दहरु गीतमा समाबेस रहेका हुन्छन / भैलीमा महिलाहरु मात्र समाबेस हुन्छन पुरुषहरुको सहभागीता समूहमा रहदैन / नृत्य भने सहभागी हरुको संख्या हेरी ठुलो समूह छ भने धेरै जना नाचेको र समुहमा थोरै सदस्य रहेको अवस्था मा एक जना मात्र नाचेको पनि पाईन्छ /

DEUSI SONG (देउसी गीत)

In the Bag you can see "SEL ROTI" and Fruits

Performing Dance

यो गीत हिन्दुहरुको दशैं पछिको दोस्रो ठुलो चाडका रुपमा मानिएको तिहारका अबसरमा गाउने अनि नाच्ने गरिन्छ । दिदि बहिनीहरुले दाजु भाईहरुलाई भाईटिका लगाईदीसकेपछि पुरुषहरु देउसी खेल्नका लागि टोल छिमेकमा निस्कने गर्दछन सोहि समयमा गईने गीत लाई देउसी गीत भनिन्छ र देउसी गीतमा एक जनाले गीतको मुख्य शब्द निकाल्ने गर्दछन भने अरुले सामुहिक रुपमा देउसीरे...... भन्दै साथ दिने गर्दछन र मुख्य शब्द निकाल्ने काम लाई भट्याउने.... भनेर भनिन्छ । देउसी खेल्दा घर घरबाट दान दक्षिना समेत संकलन गरिने भएकोले गीतमा दान दक्षिना माग गरिएका अनि दान दक्षिना प्राप्त गरिसके पछि धन्यवाद स्वरूप दातालाई आशिष दिने खालका शब्दहरु समाबेसगरिएका हुन्छन । नृत्य को हकमा भने सहभागी हरुको संख्या हेरी एक वा सो भन्दा बढीले गीत अनुसार नृत्य गरेको पाईन्छ। तीहारमा तयार गरिएका सेल रोटी तथा फलफूलहरु पनी दक्षिना देउसी लाइ दिने गरीन्छ ।

DEUDA (देउडा)





देउडा नेपालको सुदुर पश्चिममा प्रचलित गीत हो. देउडा गीतमा नृत्य समेत गरिन्छ. देउडा बिसेसगरि एक आपसमा हात समातेर सामुहिक रुपमा गाउने अनि नाच्ने गरिन्छ. गौरा पर्वका अबसरमा देउडा गाउने अनि नाच्ने गरेको हामीले पाउछौ.

TAMANG SELO (तमाङ सेलो)

Performing Dance, One artist carrying a "DAMPHU"


बसोबासको हिसाबले नेपालको मध्यमंचाल बिकाश क्षेत्रमा बाहुल्यता रहेको तमाङ्ग समुदायको मौलिक गीत एबम नृत्यका रुपमा तमांग सेलोलाई लिने गरिन्छ. यो नाच वा गीत धेरै जसो युगल हुन्छ यानिकी महिला र पुरुषले गाउने गर्दछन. माया प्रेम तथा हस्यौली, ठट्यौलीका प्रसङ्गहरु गीत का बिषयबस्तुका रुपमा रहेका हुन्छन. बाजा भने डम्फुको प्रयोग भएको पाइन्छ .

SHORHATHI (सोह्रठी)


यो नृत्य नेपालको पश्चिमान्चलमा प्रचलित नृत्य हो। यो नृत्यमा गाईने गीतमा एक बिशेस प्रकारको कथा रहेको हुन्छ। जैसिंगे राजा अनि हेमबन्ति रानी बिचको बिभिन्न जीवन प्रसङ्गहरुलाई यस नृत्यको गीतमा समाबेश गरेको पाइन्छ। केहि पुरुषहरुलाई महिलाको भेषमा उतारी एक जनालाई बिशेस भेषमा नचाइन्छ जसलाई पुर्सुंगे भनिन्छ। चाड पर्ब तथा कुनै घरमा नव सन्तानको जन्म जस्ता खुसियालीमा यो नाच नाचिने गरिन्छ ।


GHANTU (घाँटु नृत्य)

Dancers are preforming "GHANTU DANCE"

घाँटु नाच गुरुङ जतिको मौलिक नाच हो । नेपालको पश्चिमान्चल बिकाश क्षेत्रको लम्जुंग, तनहुँ, कास्की, स्याङ्गजा, पर्बत जिल्लामा बसोबास गर्ने गुरुङ हरुमा यो नाच प्रचलित छ ।  घाँटु नाच बाह्रमासे घाँटु, सति घाँटु जस्ता विविन्न प्रकारमा प्रचलित रहेको पाइन्छ । खसगरि बिबाह नभएका कन्या केटि हरुलाई घाँटुका रुपमा नचाउने गरिन्छ । यो नाचलाई बिधिबत रुपमा सुरुवात अनि समापन गर्ने गरेको पाइन्छ ।






JHYAURE (झ्याउरे नृत्य)


यस किसिमको नाच नेपालको पश्चिमान्चलमा प्रचलित छ. मादल को छिटो छिटो तालमा गीत गाउँदै समूह वा एकल रुपमा यो नाच नाच्ने गरिन्छ. बिशेस गरि गुरुङ र मगर समुदायमा यो नाच प्रचलित छ. गीत र वाद्यवादनको गति सुरुमा ढिलो ढिलो हुन्छ . त्यसपछि दोस्रो वा तेस्रो चरणबाट गीत अनि वाद्यवादनको तालको गति बढ्दै जान्छ. यसरी ताल बढ्दै जादा नृत्यको गति पनि बढ्दै जान्छ . यसप्रकार छिटो छिटो नाचिने अनि गाइने भएकोले सबैलाई यो नाचले पूर्ण मनोरंजन प्रदान गरेको पाइन्छ .

CHANDI (चण्डी)



यो नाच बिशेसगरि नेपालको पुर्बी भेगमा आदिवासीका रुपमा बसोबास गर्ने किराँत समुदायका जात जातिहरुमा प्रचलित छ. पुर्बका किराँत समुदाय भन्नाले राई लिम्बु हरुलाई बुझ्नु पर्ने हुन्छ. उनीहरु को उभौली र उधौली पर्वमा ढोल, झ्याली को तालमा गीत गाउँदै सामुहिक रुपमा यो नृत्य गर्ने गरिन्छ. बिशेसगरि प्रकृति लाइ सम्बोधन गरि तयार गरिएका गीतहरु परम्परागत रुपमा प्रचलित छन् भने अचेलका गीतहरुमा माया प्रेमका शब्दहरु पनि समाबेस गरि गाउने अनि बजाउने गरेको पाइन्छ.

ROILA CHUTKA (रोईला चुट्का)

यो चुट्का भजन चुट्का जस्तै हो तर यसमा भजन चुट्कामा जस्तो भगवानको आराधना गरीएका शब्दहरु समाबेश हुँदैनन् । माया प्रेम तथा समसामयीक बिषयहरु यस गीतका बिषय वस्तुका रुपमा रहेका हुन्छन। बिशेसगरि ब्राहमण समुदायमा यस किसीमको चुट्का प्रचलित छ। खैजडी र मुजुरा यस गीतको गायनमा वाद्य सामग्रीका रुपमा प्रयोग भएको पाइन्छ।

KAURA CHUTKA(कौरा चुट्का)


नेपालको पश्चिमान्चल बिकाश क्षेत्र अन्तर्गत रहेको तनहु जिल्लालाई यस चुट्काको उदभव स्थलका रुपमा लिईन्छ. यस प्रकारको चुट्कामा काठको गोलो घेरा भएको छालाले मोरिएको खैजडी बाजाको तालमा पुरुषहरुले गाउने अनि महिलाहरु नाच्ने गर्दछन . गीतमा बिशेसगरि स्थानीय जन जीवनकाविभिन्न प्रसङ्गहरु समाबेश गरिएका हुन्छन. बिशेसगरि मगर समुदायको नृत्यका रुपमा कौरा चुट्कालाई लिने गरिएता पनि कास्की, स्यांग्जा, लम्जुंग आदि जिल्लाहरुमा गुरुङ समुदायमा पनि यो नाच एबम नृत्य प्रचलित छ .

BHAJAN CHUTKA (भजन चुट्का)

भगवानको आराधना सहित नेपाली लोक बाजा मध्येको एक अतिनै लोकप्रिय बाजा खैंजडी अनि मुजुराको तालमा गाईने लोक भजनलाई नेपाली लोक संगीतको क्षेत्रमा भजन चुट्काका रूपमा लिईन्छ । नेपालको ब्राह्मण समुदायमा बिशेसगरि यो चुट्का प्रचलित छ । अधिकांस रुपमा  शिवरात्रि, माघे सक्रान्ति जस्ता पर्बहरु, धार्मिक मेलाहरु तथा विभिन्न मठ मन्दीर अथवा घरमा संचालन गरिने पूजा आजामा भगवानको आराधना सहित यस किसिमको चुट्का गाइने अनि नाचिने गरिन्छ। यस  चुट्कामा एकल वा समूह दुवै खालको नृत्य गर्ने गरेको पाईन्छ ।